प्रदेशसभा वैठक छाडेर काठमाडौं उडिन् कोशीकी उपसभामुख, संकटमा सरकार



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको बैठक बोलाएर उपसभामुख सिर्जना दनुवार काठमाडौं हिडेकी छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले सोमबारलाई बैठक बोलाएकी थिइन् । तर, उपसभामुख दनुवार आफ्नो निजी सुरक्षाकर्मीसहित काठमाडौं उडेको विराटनगर विमानस्थल स्रोतले दिएको जानकारी दियो । उनी बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेकी हुन् ।


उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । प्रदेशसभाको बैठक १ बजे डाकिएको छ । नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक भुपेन्द्र राईले कार्यव्यवस्था बैठक बस्ने भनिएकाले आफू प्रदेससभा सचिवालयतर्फ जान लागेको बताए ।

उपसभामुख दनुवार काठमाडौँ हिडेपछि अब कोशी प्रदेश सभाको अध्यक्षता कसले गर्ने भन्ने बारे अन्योलता देखिएको छ ।यस अघि सभामुख रहेका बाबुराम गौतमलाई राजीनामा गराएर उद्धव थापा मुख्यमन्त्री बनेका थिए ।

सभामुख र उपसभामुख दुबै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले संसद संचालन गर्ने प्रावधान छ तर एमाले र राप्रपाका ज्येष्ठ सांसदहरु बैठक संचालन गर्न तयार नभएपछि सत्ता पक्ष अप्ठ्यारोमा परेको छ ।

एमाले र राप्रपाका जेष्ठ सदस्यहरुले आइतबारै सचिवालयमा बिदा मागेको निवेदन दिएका छन् ।

एमाले जेष्ठ सांसदहरूमा रोहिदबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिइसकेका छन् ।

सत्ता पक्षका सांसदले बैठक संचालन गरेमा मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने छैनन् । यस अवस्थामा प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

कोशी प्रदेशमा बहुमतका लागि ४७ सदस्य आवश्यक रहेको छ । ९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका छ गरी ४६ जना प्रदेश सभा सदस्य छन् ।