काठमाडौं । पूर्वमन्त्री तथा वरिष्ठ वामपन्थी नेता चन्द्रदेव जोशीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा आफूले राज्यलाई सघाउने बताएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि सोमबार सामाजिक संजालमार्फत जोशीले अनुसन्धानमा आफ्नो सहयोग रहने बताएका हुन् ।
उनले संचारमाध्यममा समाचार आएजस्तो आफू ललिता निवास जग्गा प्रकरणबारे मन्त्रिपरिषदले निर्णय गर्दा आफूले राजीनामा दिइसकेको उल्लेख गरेका छन् । उनले ललिता निवासबारे मन्त्रिपरिषदले २०६९ असोज १८ गते निर्णय गरेको तर आफू जेठ ३ देखि असोज ४ गतेसम्म मात्र मन्त्रिपरिषदमा रहेको बताएका छन् । उनले निर्णय प्रक्रियामा आफ्नो कुनै सहभागिता नरहेको बताएका छन् ।
उनले लेखेका छन् – “वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।
तर समाचार माध्यमहरुमा आए अनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषदमा निर्णय हुँदा म मन्त्री पदमा थिईँन । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालिन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइन । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् ।
यसअघि पनि पटक पटक जानकारी दिए अनुसार नै आदालतको दोस्रो ताकेता पछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीकाे मन्त्रीका रुपमा मेरो मार्फत निर्णकालागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हाे । सो सम्बन्धी निर्णय प्रकृयामा मेरो कुनै सहभागिता छैन ।
जे जसाे भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेराे पूरा सहयाेग रहने छ ।”