धरान निषेधाज्ञा : बाक्लो सुरक्षाकर्मी परिचालन, सार्वजनिक यातायात ठप्प



धरान । स्थानीय प्रशासनले निषेधादेश जारी गरेपछि धरानमा शनिवार बिहानैदेखि मानिसहरूको चहलपहल न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित दुर्घटना टार्न निषेधाज्ञा जारी गरेपछि धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्।

धरानमा बजार भने खुला रहेको र स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायत केही निजी सवारीसाधन भने अवरुद्ध नभएको बताइएको छ ।


निषेधाज्ञालाई धरानवासीले पालना गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए । धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको स्थानीयवासीले बताए।

व्यवसायीहरूका अनुसार इटहरी हुँदै धरान जाने सबैजसो सवारीसाधनलाई इटहरीको तरहरा क्षेत्रबाट प्रहरीले रोकेर फिर्ता पठाएको छ।

विभिन्न धार्मिक सङ्घसंस्थाले शनिवार धार्मिक र्‍याली आयोजना गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले शुक्रवार रातिदेखि शनिवार राति १२ बजेसम्म धरान क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

धरानमा केही मानिसले गोरु काटेर मासु खाएको भनिएको विवरण सार्वजनिक भएपछि चलेको बहस र त्यससँगै उत्पन्न विवादपछि सम्भावित दुर्घटना टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको बताएको छ।