ताराखोलामा पक्कीपुल अभाव



गलकोट । सडकले सुगम बन्दै गएको बागलुङको ताराखोला गाउँपालिकाभित्र एउटा मात्रै पक्की पुल छ । धेरै खोला र खोल्सा भएको ताराखोलामा बर्खाको यात्रा भने सकसपूर्ण हुने गरेको छ । 

ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा पुग्न अहिले गलकोटबाट मुस्किलले दुई घण्टा लाग्छ । घुस्मेलीखोलामा पुल नहुँदा अर्गलबाट साँघुबोट हुँदै घुस्मेली आउन एक घण्टा बढी समय लाग्ने गरेको स्थानीय बताउँछन् । गाउँपालिकाको वडा नं ३ देखि २ नम्बर जोड्ने घुस्मेलीखोलामा बर्खाको चार महिना यातायातका साधन वारपार गर्न सक्दैनन् । बर्खाको समयमा खोला बढेपछि अहिले एक घण्टा बढी समय खर्चेर घुमाउरो बाटो भातखाने डाँडा पुग्नुपर्ने बाध्यता छ । 


घुस्मेली खोलामात्रै हैन गाउँपालिकाभर बाहै्रमास सहज ढङ्गले सवारीसाधन चल्नका लागि १२ पक्की पुल आवश्यक रहेको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । बाह्र पक्की पुल निर्माण गर्न रू ३० करोडभन्दा बढी खर्च लाग्ने पालिकाको अनुमान छ । पालिकाले पुल निर्माण गर्न नसक्दा प्रदेश र सङ्घीय सरकारमा माग गरिँदै आए पनि अहिलेसम्म एउटा पुलको योजनासमेत नपरेको अध्यक्ष विकको भनाइ थियो । 

“पालिकाभित्र एउटा मात्रै पक्की पुल छ, अहिले पालिकाले तीन कजवे(अस्थायी पुल) बनाएर यात्रालाई सहज बनाएका छौँ”, उनले भने, “गाउँपालिकाभर १२ पक्की पुल आवश्यक छ । पालिकासँग पुल बनाउने बजेट छैन । प्रदेश र सङ्घीय सरकारलाई बजेट माग गर्दै आए पनि हालसम्म योजना पर्न सकेको छैन ।” उनले यस वर्ष पनि पालिकाले दुई वटा कजवे बनाउने उद्देश्य लिएको जानकारी दिए । अध्यक्ष विकका अनुसार ताराखोलामा पुललाई पहिलो प्राथमिकता राख्न प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दै आइएको छ । 

हिउँदको समयमा खोला सानो हुँदा १५ मिनेटमै गाउँपालिकाको केन्द्र भातखाने डाँडाबाट घुस्मेली आए पनि अहिले खोलामा पुल नहुँदा एक घण्टाको घुमाउरो सडक प्रयोग गर्न बाध्य भएको स्थानीय तारा थापाले बतए  । “सडक कच्ची भएर त्यति समस्या छैन जति पुल नहुँदा छ । यहाँ धेरै खोला पार गर्नुपर्ने, बर्खामा खोला नतर्दा यातयात नै ठप्प हुन्छ”, उनले भने, “यहाँका एक दर्जन खोला र खोल्सामा पक्की पुल बनेमात्रै बाह्रेमास यात्रा सहज हुनेछ ।”

चार वर्षअघि ताराखोलाको साँघुबोटमा पक्की पुल बनेको थियो । थपाले ठूलोखोलामा पालिकाले अहिले कजवे निर्माण गरेर सञ्चालन गरिरहेको जनाउँदै पालिकाले गत वर्ष दोगाडीघाँट र धपाङघाटमा कजवे निर्माण गरेपछि यात्रा सहज भएको बताए । 

चालु वर्षमा पालिकाले समस्याग्रस्त स्थानमा प्राथमिकताका आधारमा कजवे निर्माण गरेर यात्रा सहज बनाउने उद्देश्य अनुरुप योजना बनाइरहेको अध्यक्ष विकले जानकारी दिए । उनका अनुसार पालिकाले रू १७ लाखदेखि रू २२ लाखसम्मको अस्थायी पुल निर्माण गर्ने लक्ष्य लिएको हो । 

ताराखोलामा घुस्मेली, वडा नं १ को मस्याङ्दी, वडा नं २ को कुवाधुने, वडा नं ३ को बगर, दलमचौर, दोगाडी खोला, छेल्लर, छेजी, बुङ्दीघाट, मपेश, तलिम र सिप खोलामा पक्की पुलको आवश्यक रहेको अध्यक्ष विकले बताए । उनका अनुसार पुल निर्माणका लागि बर्सेनि माग गरे पनि चार वर्षयतादेखि कुनै योजना पर्न सकेको छैन । पुल नबन्दा बर्खामा यहाँका बासिन्दा मर्कामा पर्ने गरेका छन् । बर्खाको समयमा खोलामा पानी बढ्दा बिरामीलाई तत्कालै अस्पताल पठाउनसमेत असहज हुने स्थानीय वसन्त विकले बताए ।