जेलेन्स्कीको हत्या योजना बनाएको आरोपमा एक महिला पक्राउ



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको सुरक्षा निकायले जनाएको छ ।

युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना प्रवाह गरेको आरोप लगाउँदै आएको छ जेलेन्स्कीले एसबीयूका प्रमुखले आफूलाई “धोकेबाज विरुद्धको लडाइँ”बारे खबर गरेको भन्दै ती महिलाको गिरफ्तारीबारे आफूलाई जानकारी दिइएको पुष्टि गरेका छन् ।


रुसले यस गिरफ्तारीबारे कुनै टिप्पणी गरेको छैन । युक्रेनको सुरक्षा सेवासम्बन्धी निकाय एसबीयूले विज्ञप्ति जारी गर्दै ती महिलालाई रुसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा रङ्गेहा पक्राउ गरिएको जनाएको छ । ती महिलाले दक्षिणी माइकोलाइभ क्षेत्रमा जेलेन्स्कीको भ्रमणअघि नै त्यहाँको यात्रा योजना पत्ता लगाउन गुप्तचर सूचना सङ्कलन गर्ने प्रयास गरेको उनीहरूको आरोप छ ।

उनीहरूले एसबीयूको भान्सामा उभिएकी सन्दिग्धको मुखौटोसहितको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा ती महिला र सँगै उभिएका अधिकारीहरूलाई प्रस्ट देखिँदैन ।

जेलेन्स्कीले कखोभ्का बाँध भत्किँदा भएको क्षति निरीक्षणका लागि गत जुन महिनामा माइकोलाइभको भ्रमण गरेका थिए। त्यसपछि जुलाईमा रुसको भारी गोलाबारीपछि उनी त्यहाँ पुगेका थिए । सुरक्षा सेवा निकायले भ्रमणअघि नै आफू उक्त षडयन्त्रबारे जानकार रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिएभ नामक सानो सहरकी बासिन्दा हुन् जहाँ जेलेन्स्कीले गत जुलाईमा भ्रमण गरेका थिए। उनी त्यहाँको एक सैन्य अखडामा रहेको पसलमा काम गर्थिन् । भ्रमणका क्रममा एसबीयूले सन्दिग्धलाई पक्राउ नगरी युक्रेनी राष्ट्रपतिमाथि हुनसक्ने आक्रमण रोक्ने उपाय अपनाएको बुझिएको छ ।