काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) का लागि नेपालले आफ्नो आन्तरिक तयारीको औपचारिक सुरुवात गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा उच्चस्तरीय राष्ट्रिय निर्देशक समितिको बैठक सम्पन्न गरेको छ । वनमन्त्री डा वीरेन्द्रप्रसाद महतोको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूको सहभागिता थियो ।
बैठकमा कोप–२८ को तयारीका लागि बनाइएको समग्र मार्गचित्रका बारेमा जानकारी गराउँदै त्यसको कार्यान्वयन सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री डा महतोले सम्मेलनको तयारी समयमै थाल्न र सरोकारवाला सबैलाई सहभागी गराई प्रभावकारी प्रस्तुतिका लागि तयारी गर्न निर्देशन दिएका थिए ।
मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, वनसचिवको अध्यक्षतामा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ ।
यसैगरी सम्मेलनको तयारीका लागि यसअघि अन्तर्राष्ट्रियरूपमा नोगेसेटिङ ब्लकअन्तर्गत जि ७७ एण्ड चाइना, क्लाइमेट भलनरलेबल फोरम, एलडिसिज ग्रुपलगायतसँग निकाय र संयन्त्रसँग समन्वय गरी आधारभूत तयारी थालिसकेको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए ।
सम्मेलनको तयारीका लागि मन्त्रालयले सरोकारवाला विज्ञसहितको समूह गठन गरी विभिन्न सुझाव सङ्कलन गरेर राष्ट्रिय कार्यपत्रको तयारी गरिने उनले बताए । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन यस वर्ष आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।
आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्सले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मेलनमा निमन्त्रणा गरिसकेको छ । नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले यही साउन १६ गते उनलाई भेट गरी निमन्त्रणा गरेका थिए ।
विश्व जलवायु शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका थिए । राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिकरूपमा सुरु हुने ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’ तथा आगामी डिसेम्बर १ र २ मा आयोजना हुने युएइको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा निमन्त्रणा गरिएको छ ।