दाङ । कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्नेसम्मको सोच हावी थियो । यसकारण महिलाका नाममा रहने सम्पत्ति भनेको माइतीबाट प्राप्त दाइजो मात्रै हुन्थ्यो ।
अविवाहिता छोरीलाई पनि अर्काको घर जाने जात भन्दै सम्पत्ति दिने चलन हुँदैनथ्यो । तर त्यो परम्परा अहिले भने तोडिएको छ ।
सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गरेपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । त्यस्तै कानुनले पनि अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारणले पनि पछिल्लो समय जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो ।
मालपोत कार्यालय तुलसीपुर दाङका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा पाँच हजार आठ सय ११ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा सहरी क्षेत्रका चार हजार पाँच सय ७३ जना र ग्रामीण क्षेत्रका एक हजार दुई सय ३८ जना रहेको मालपोत कार्यालय तुलसीपुरका सूचना अधिकारी लक्ष्मी तामाङले जानकारी दिइन् ।
उनका अनुसार महिलाका नाममा जग्गा पास गर्दा २३ करोड १४ लाख ४९ हजार ९८ राजस्व छुट भएको छ । त्यसैगरी आव २०७८/७९ मा सहरी क्षेत्रका पाँच हजार नौ सय ७२ र ग्रामीण क्षेत्रका एक हजार आठ सय २७ गरी कूल सात हजार सातसय ९९ जना महिलाका नाममा जग्गा पास गराउँदा आठ करोड ४५ लाख ४० हजार चार सय ७६ राजस्व छुट भएको थियो ।