काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको र चीनसँग पनि महत्वपूर्ण सम्झौता हुने बताएका हुन् ।
उनले भने, ‘यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ । हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौँ । मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु ।’
उनले नेपालमा जलविद्युत विकासको इतिहास एक सय १२ वर्षभन्दा पुरानो भएपनि जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकेको बताए । उनले यसको अन्त्य गर्न अहिले योजनावद्ध रूपमा काम गरिरहेको र अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेका बताए ।
प्रधानमन्त्री प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि लोडसेडिङ अन्त्य भएको बताए । उनले भने, ‘ दैनिक १८ घण्टा बत्ती जाने त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानजीलाई ल्याएपश्चात् हाम्रो संकल्प इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएका थियौँ ।’