काठमाडाैं । सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
मंगलबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो । मंगलबारको बैठकमा सबै दलका प्रतिनिधिहरुले धारणा राखेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका बारेमा सदनलाई जानकारी गराएका थिए ।
गृहमन्त्रीले सरकारका तर्फबाट जवाफदेही ढंगले जवाफ नदिएको एमालेले आरोप लगाएको छ । एमाले सांसदहरुले सदनमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाएर बुधबारसम्मका लागि बैठक स्थगित गरे ।