संखुवासभा । संखुवासभामा कारागारभित्रै दुई जना कैदीको मृत्यु भएको घटनामा पक्राउ परेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत संखुवासभाले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनमुति दिएको हो।
साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।
मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
असई चौधरी पक्राउ परेपनि जेलर घिमिरे भने पक्राउ परेका छैनन्।