एसिया कपका लागि सन्दीप आज पाकिस्तान जाँदै



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् ।

सन्दीपविरुद्धको मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएपछि उनी आज बिहान साढे १० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।


सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि सन्दीप भने गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।