काठमाडौँ । टेक कम्पनी एप्पलको वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर १२ मा हुने भएको छ । कम्पनीले यस वर्षको आफ्नो कार्यक्रमलाई ‘वन्डरलस्ट’ नाम दिएको छ, जुन क्यालिफोर्नियास्थित एप्पलको मुख्यालयको ‘स्टिभ जब्स थिएटर’ मा हुनेछ ।
नेपाली समय अनुसार यो कार्यक्रम राति १०:४५ बजेदेखि सुरु हुनेछ, जसको प्रत्यक्ष अनलाइन प्रसारण हुनेछ ।
एप्पलले यस इभेन्टमा आईफोन १५ सिरिजसँगै एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गर्न सक्ने बताइएको छ । यद्यपी उक्त कार्यक्रममा कुन–कुन उत्पादनहरु लन्च गर्ने भन्ने बारे कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।
एप्पलले यस कार्यक्रममा आइओएस १७ अपरेटिङ सिस्टमको रोलआउटको मिति पनि घोषणा गर्न सक्ने बताइएको छ । आईओएस १७ का फिचर्स कम्पनीले तीन महिनाअघि सार्वजनिक गरेको थियो । आइओएस १७ ले लाइभ भ्वाइस मेल ट्रान्सक्रिप्शन, फेसटाइम सन्देशहरू रेकर्ड गर्ने क्षमता, व्यक्तिगत सम्पर्क पोस्टर जस्ता सुविधाहरू प्राप्त गर्नेछ ।
त्यस्तै प्रयोगकर्ताहरूले अब अफलाइन नक्साहरू पनि प्रयोग गर्न सक्षम हुनेछन् । हाल आइओएस १७ को बिटा भर्सनमा मात्र उपलब्ध रहेको छ ।
मिडिया रिपोर्टहरूका अनुसार, यस वर्षको सबैभन्दा महँगो आईफोन आईफोन १५ प्रो म्याक्स हुन सक्छ, जसमा टाइटेनियम फ्रेमको साथ पेरिस्कोप क्यामेरा रहेको छ । यसमा नयाँ ए१७ बायोनिक चिपसेट र १५० वाटको द्रुत चार्जिङ गति रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।