एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि बस्ने



काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक यही भदौ ३ गतेदेखि सुरु हुने भएको छ।

शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो।


त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार मुख्य एजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ।

एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरि राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।