आराम छोडेर आरनमा रमाउँदै सुशील



बाग्लुङ । जवानी पल्टनमा बित्यो । उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन । निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै-मैलै छन् । हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन् । 

काठेखोला गाउँपालिका वडा नं ५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिए सुशील सुनार । पङ्क्तिकारसँग केहीबेर गफिएका उनि उमेरले छ दशक नजिक छन् ।


केही बेरको संवादमा सुशील पटक–पटक फ्ल्यासब्याकमा पुगे र खोतलेका केही किस्साहरु । अभावले झेलिएको बालापन । अवसरले घेरिएको यौवनसँगै चुनौतीको सामना गर्न तयार बुढ्यौलीको अनुभव उनिसँग छ । गाउँमा उनि एक्ला मेहनती भने छन् । गाउँभरि कालीगढ छन् । धेरैले तामा र फलामका भाँडा बनाउँछन् तर, गाउँकै अरु मेहनती कालीगढभन्दा उनि केही विषयले फरक छन् ।

सुशील सानै छँदा उनका पिता पुर्खाले तामा र फलामका भाँडा बनाउँथे । बालिघरे प्रचलन रहेकै बेला विष्टका घरका भाँडा बनाउने बेला हजुरबुबा र बुबाहरुबाट सुशीलले सीप सिके । पन्ध्र वर्षको उमेरमा सिकेको सीपले जीवन चलाउन त्यो बेला कठिन थियो । साथीसङ्गी र परिस्थितिले उनलाई भारतीय सेनामा पुर्‍यायो । 

सुशील सानै उमेरमा भारतीय सेनामा भर्ती भए । २१ वर्ष भारतीय सेनाको जागिरबाट अवकाश हुँदा उनि युवा उमेरकै थिए । सन् २००० मा आरमोर पल्टनमा हवल्दार रहेका सुशील अवकाश भएर घर फर्किए । एक्काइस वर्ष दुःख गर्दा आर्जेको धन सुशीलले बालबच्चाकै हेरचाह र घर खर्चमा सकियो । 

“मलाई गर्मी मन पर्दैन, बरु गाउँमै जग्गा जोडेँ बाहिर गइन्”, उनले भने, “बरु हथौडाकै साहरा लिउँ भन्ने लागेको थियो, तै पनि एक पटक विदेश जाउँ भनेर घर छोडियो ।”

बीचको छ वर्ष बाउबाजेका पाला सिकेको सीप उनले काममा लगाए । गाउँमै बसेर तामा र फलामका भाँडा बताए । सन् २००६ मा उनि मलेसिया लागे । मलेसियाको क्वालालम्पुर सहरमा आठ वर्ष बिताए । “मासिक ८० हजार कमाउँथे, आठ वर्ष बसेपछि पुग्योजस्तो लागेर घर फर्कें,” सुनारले सुनाए , “सेक्युरेटी गार्डको जागिर  सजिलै थियो ।”

१५ वर्षको उमेरबाट सुरु भएको उनको मेहनतको यात्रा देश विदेश घुम्यो । मलेसियाबाट सन् २०१३ मा नफर्किने गरी घर फर्कनुभएका सुनार त्यसयता निरन्तर हथौडाको साथ लिइरहेका छन् । बिहानबेलुका घरको काम गर्छन् । गोठभरि भैँसी छन् । दिउँसोे गाउँकै सामुदायिक भवन नजिकै रहेको झुपडीमा तामा र फलामसँग कुस्ती खेल्छन ।

“महिनामा ८०/९० हजार त पेन्सन नै आउँछ, तर छोराहरुको भविष्यका लागि र आफ्नो सिपको सदुपयोगका लागि मेहनत गरिरहेको छु”, सुनार भन्छन्, “खान नपुगेर होइन, जीवन क्रियाशील राख्न र व्यवस्थित बनाउनका लागि मेहनत गर्छु ।”अक्सर मानिस पेन्सन पाएपछि सुखको जीवन खोजी गर्छन् । बसेर आराम गर्छन् तर, सुनारलाई सुविधा, आरामको पटक्कै चाहना छैन ।

“आफूले दुःख पाइयो, छोराहरुले भोग्न नपरोस् भनेर म मेहनत गर्छु”, उनले भने, “आरनमा बसेर मेहनत गर्दा मलाई आनन्द लाग्छ ।”तामाका गाग्री, ताउलालगायतका भाँडा बनाउने सीप उहाँसँँग छ । बञ्चरो, कोदाली, हँसियामा धार लगाउन उनि  सीपालु छन् । “यहाँ अरुले  तीन हजार पाँच सय किलोदेखि पाँच हजारसम्म प्रतिकिलो तामा बिक्री गर्छन्, मेरो एउटै रेट छ, तामाका भाँडाको मूल्य प्रतिकिलो  तीन हजार”, सुशील भन्छन् , “भाँडा बनाई नसक्दै घरबाटै बिक्री हुन्छन् ।” 

उनले आफूले काम गर्दा गाउँलेले सुविधा पाएको र आफूलाई पनि आर्थिक आम्दानीसहित व्यस्त हुने बहाना मिलेको सुनाए  । काम निरन्तर गर्न पाउँदाको महिनामा उनले रु ७० देखि ८० हजार कमाउछन्  । “ ४०-५० हजार त नचलेको महिना पनि कमाइ हुन्छ”, सुनारले सुनाए ।

बागलुङ बजारमा रु एक हजार चार सय किलोमा पाइने तामालाई भाँडाको आकारमा ढालेपछि  तीन हजार प्रतिकिलो लिन र दिन कोही पनि नहिच्किचाउने उनले बताए ।

सुनारका जेठा छोरा विदेशमा छन् । माइला छोराको काठमाडौँमा व्यवसाय छ । साइँला छोरा इञ्जिनियरिङ पढ्दैछन् भने कान्छा छोरा डाक्टरी पढ्दै छन् ।

“छोराहरुको पढाइ खर्च भाँडा बनाएरै पुर्याइरहेको छु, घर खर्च, आफ्नो खर्च पनि गज्जब चल्छ”, सुनार भन्छन्, “मेहनत गरेपछि गाउँमै कमाउन सकिन्छ ।”

गाउँघरमा सामाजिक काम, मेला पर्व उनले छुटाउँदैनन् । गोठमा रहेका तीन भैँसी र दुई पाडापाडीको स्याहारसुसारमा पनि उनले जीवनसाथीलाई सघाउछन् । सुशील बिहुँका एक कालीगढ मात्रै छन् , परिश्रमिकका उदाहरण छन् ।