संसदको अवरोध खुलाउन सभामुखले दलका सचेतकहरुसँग छलफल गर्दै



काठमाडौँ । सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन आफ्नो पहल जारी राखेका छन् ।

झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।


उनले आज बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् ।

सभामुख घिमिरेले यसअघि पनि पटक पटक समस्याको समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गर्दै आएका छन् ।

सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।

६० केजी सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेयता निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।