युरोपले फुटबलमा आफ्नो लिडरसीप गुमाउदै गयो : पेरेज



काठमाडौँ । रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिना पेरेजले युरोपले फुटबलको लिडरसिप गुमाउदै गएको टिप्पणी गरेका छन् ।

रियल म्याड्रिडको एसेम्बलीलाई सम्बोधन गर्दै पेरेजले साउदी फुटबलले धेरै युवा खेलाडीलाई आकर्षित गरिरहेको उल्लेख गर्दै युरोपको फुटबल विरामी भएको टिप्पणी गरेका हुन् ।


उनले भने- ‘समस्याको समाधान गर्न सबैभन्दा पहिला समस्याको पहिचान जरूरी छ । हाम्रो फुटबल विरामी भएको छ । खासगरि  युरोप र स्पेनमा । यसले विश्वमा आफ्नो नेतृत्व गुमाउदै गएको छ । युवा खेलाडीहरुले युरोपमा खेल्न अनिच्छा देखाइरहेका छन् । उनीहरु फुटबलमा उत्कृष्टता चाहन्छन्, जुन अहिले युरोपको फुटबलमा देखिएको छैन ।’

साथै पेरेज पछिल्ला बर्षहरुमा युरोपमा क्लबहरुको फुटबलका लागि नयाँ लिग ल्याउनुपर्ने अभियानमा रहेका छन् । उनले सुपर लिग ल्याउने घोषणा गरेपनि युरोपियन फुटबल फेडेरेसनको चेतावनीपछि सो योजना पछि परेको थियो ।

अहिले साउदी अरेबियाले जस्तो ठुला खेलाडी भित्र्याउने अभियान चलाइरहेकाले यसलाई रोक्न नयाँ कदम नचालेमा युरोपका ठुला लिगहरुमा स्टार खेलाडी नहुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।