माओवादीले तीन महिने पार्टी रुपान्तरण विशेष अभियान संचालन गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने भएको छ । आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष अभियान संचालन गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘तीन महिनामा कुनै पनि घर छुट्न हुँदैन, तपाईंहरु राप्रपाको घरमा जानुस्, कांग्रेसको घरमा जानुस् । त्यसको रेकर्ड पार्टीले राख्छ।’


उनले ६ हजार ७ सय ४३ वटै वडामा कमिटी बनाउन र त्यसको नेतृत्व लिन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले आफू र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा पार्टीको समग्र अवस्था बुझ्ने बताएका छन् ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीको मूल नेतृत्वमा केन्द्रित भएर हुने आरोपहरुको खण्ड गर्दै अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा नपुगेसम्म रोकिँदैन । हामीले सुशासनको कुरा उठाएपछि अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको छ । सरकारको यो अभियानलाई साथ दिएर केन्द्रीय समिति अघि बढ्नेछ ।’