फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण पूर्वनिर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणमा जाने भएका छन् ।
पेन्सन सुधारको विरोधमा फ्रान्समा भएको जनप्रदर्शन चर्केपछि फ्रान्स र बेलायतबीचको सम्बन्धमा आएको सुधारलाई उजागर गर्ने उद्देश्यले तय गरिएको यो यात्रा मार्चमा अन्तिम समयमा स्थगित गरिएको थियो ।
क्षेत्रीय दैनिक सुद–ओएस्टले बेलायतका राजा चाल्र्सको भ्रमण अब सेप्टेम्बरमा हुनेछ । राजा चाल्र्स र रानी कन्सोर्ट क्यामिलाले पूर्व योजना अनुसार दक्षिण–पश्चिम पेरिस र बोर्डोको भ्रमण गर्नेछन् । उनीहरू सम्भवतः सेप्टेम्बर २० देखि २२ सम्म आफ्नो राजकीय भ्रमणमा फ्रान्स जानेछन् ।
गत मार्चमा म्याक्रोँले विवादास्पद कार्यकारी शक्तिको प्रयोग गरी संसदबाट पेन्सन सुधार योजना पारित गराएपछि अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याइएको थियो । फ्रान्समा यो कानुनलाई लिएर चर्को विवाद भएको थियो ।
मार्चमा विरोध प्रदर्शनहरू हिंस्रक भएपछि र हप्तौं लामो हड्तालले फ्रान्सेली जन जीवनलाई अस्तव्यस्त बनाएपछि म्याक्रोँको अनुरोधमा राजा चाल्र्सले भ्रमण रद्द गर्ने निर्णय गरेका थिए ।
एलिसी प्यालेसले भनेको छ, “राष्ट्रपतिले महामहिम राजा चाल्र्स तृतीयलाई हाम्रो मैत्रीपूर्ण सम्बन्ध झल्कने परिस्थितिमा स्वागत गर्न चाहेको छ ।”