बीआरआई सम्झौताबाट अलग हुने इटालीको तयारी



रोम । युरोपेली मुलुक इटाली चीनसँगको बीआरआई सम्झौताबाट अलग हुने भएको छ । इटालियन रक्षामन्त्री गुइदो क्रोसेट्टोले चीनसँगको सम्बन्धमा कुनै असर नपर्नेगरी आफ्नो मुलुकले बीआरआईबाट पछि हट्ने तयारी गरेको घोषणा गरेका हुन् ।

कोरिएरे डेला सेरा अखबारलाई दिएको अन्तरवार्तामा उनले ‘सम्बन्धमा असर नपर्नेगरी उक्त सम्झौताबाट कसरी पछि हट्ने भन्ने आजको मुख्य मुद्दा रहेको’ उल्लेख गरेका हुन् । अन्तरवार्तामा उनले चीन साझेदारमात्र नभएर प्रतिस्पर्धी पनि भएको बताए ।


यसअघि गत मे महिनामा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले बीआरआई परियोजनाको हिस्सा नहुँदापनि आफ्नो मुलुकले चीनसँग राम्रो सम्बन्ध राख्न सक्ने उल्लेख गरेकी थिइन् । उनको भनाइसँगै बीआरआईबाट पछि हट्न इटाली इच्छुक रहेको सन्देश गएको थियो ।

गुइसिपे कोन्टेको सरकारले इटालीलाई यस परियोजनामा सामेल गराएको र यसबाट दोहोरो नकारात्मक परिणाम आएको रक्षामन्त्री क्रोसेट्टोले बताए

। सन् २०१९ मा इटालीले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको थियो । इटाली चीनको बीआरआई सम्झौतामा हस्ताक्षर गर्ने जी ७ को पहिलो सदस्य मुलुक हो ।