काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि पार्टी नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो । हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।’ उनले अहिले पनि लिडरसिप र पार्र्टीमाथि घेराबन्दी रहेको भन्दै जेल हाल्ने कुरा अझै गरिरहेको बताए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले तैपनि केन्द्रीय समिति बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको दावी गरे । उनले भने, ‘वादप्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको छ ।’