काठमाडौँ । नेइमारले साउदी प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेका छन् । पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको प्रस्तावलाई नेइमारले स्वीकार गरेका हुन् ।
अल हिलालले नेइमारका लागि ९० मिलियन युरो तिरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
नेइमारले अल हिलालमा २ बर्षको सम्झौता गरेका छन् । उनी २०२५ को जुन ३० सम्म अल हिलालमा रहने भएका छन् ।
त्यस्तै अल हिलालले नेइमारलाई बार्षिक करिब ८० मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । उनले पिएसजीमा बार्षिक करिब २५ मिलियन युरो पारिश्रमिक लिने गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार नेइमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ ।
अल हिलालले नेइमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेइमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।
२०१७ मा रेकर्ड २२० मिलियन युरोमा पिएसजी गएका नेइमार शुरु देखि नै पोएसजीमा असहज महसुस गरेका थिए । नेइमारको लगातारको इन्जुरीका कारण पनि पिएसजीमा पुरा समय खेल्न सकेका थिएनन् । पिएसजीमा ६ सिजनमा नेइमार कुनै पनि सिजन पुरा खेल खेल्न सकेका थिएनन् ।
उनले पिएसजीमा अहिलेसम्म १७३ खेलमा ११८ गोल गरेका छन् ।