नक्कली शरणार्थी प्रकरणः थुनामुक्त गर्न माग गर्दै खाँण, रायमाझीलगायत उच्च अदालतमा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी उच्च अदालत पाटन पुगेका छन् ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध खाँण र रायमाझी उच्च अदालत पाटन पुगेका हुन् । उनीहरूले आफूहरू थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन् । जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी सामान्य तारिखमा बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहितको निवेदन लिएर खाँण, रायमाझीलगायतका नेताहरूले निवेदन दिएका हुन् ।


उनीहरूले दिएको निवेदनमाथि सुनुवाइ प्रक्रिया अघि बढिसकेको छ । खाँण र रायमाझीका हकमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । यसअघि नै निवेदन दिएकाहरूको हकमा उच्च अदालत पाटनको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।

रायमाझीका तर्फबाट साउन ११ गते निवेदन दर्ता र १२ गते आदेश तथा खाँणका तर्फबाट साउन १२ गते निवेदन दर्ता भएर १४ गतेको पेसीमा उच्च अदालत पाटनले कैफियत आदेश मगाएको थियो । बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमशेर मियालगायतका अभियुक्तहरूले पनि उच्च अदालतमा रिट दर्ता गराएका छन् ।