जनकपुरधाम । स्थानीय जनप्रतिनिधिहरुले गरेको कामको मूल्यांकन गर्न जनमत पार्टीले शनिबार मतदान गराइरहेको छ । स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुमोदन मूल्यांकनका लागि विभिन्न स्थानीय तहमा शनिबाबर मतदान भइरहेको छ ।
जनमत पार्टीका सचिव वीपी साहका अनुसार २०८० वैशाख ३० गतेभन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरूले मात्र मतदान गर्न पाएका छन् । निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि बिहान ९ बजेदेखि मतदान सुरू भएको हो ।
‘राइट टु रिकल’ को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ गर्दैछ ।
मतदान गराउनका लागि पार्टीले निर्वाचिन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको छ । मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको थियो भने दाबी विरोधका लागि दुई दिनको समय दिइएको थियो ।