खसीबोका पालनलाई प्रोत्साहन गर्न तनहुँमा मासुमा अनुदान



दमौली । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा अनुदान दिन लागेको हो ।

खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा खसीबोका पालन कृषकको सङ्ख्या बढ्दै गएकाले प्रोत्साहनका लागि पहिलोपटक अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।


केन्द्र प्रमुख डा श्रेष्ठले भने, “प्रतिकिलो दश रुपैयाँका दरले अनुदान वितरण गरिनेछ । त्यसका लागि २० लाख बजेट विनियोजन भएको छ ।” बाख्रापालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिनेछ । उनका अनुसार बाख्रापालनको सम्भावना बढी भएका ठाउँमा सहकारीमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था मिलाइनेछ ।

जिल्लाका व्यास नगरपालिका सहित ऋषिङ, देवघाट र घिरिङ गाउँपालिकामा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढी छ । त्यहाँका कृषकले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् ।

उनले भने, “सहकारीमार्फत खसी बोका बिक्री वितरण गर्दा तथ्याङ्क लिन सहज हुन्छ । यो कार्यक्रमले खसीबोका पालनमा कृषकको आकर्षण अझै बढ्ने विश्वास छ ।”

कार्यालयले यसै वर्षदेखि बाँझो जग्गा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । त्यसका लागि १८ लाख ६० हजार बजेट विनियोजन भएको छ ।

पशुपालन गर्ने कृषकलाई जग्गा बाँझो नराखी घाँसखेतीमा लाग्न प्रोत्साहित गर्न यो कार्यक्रम ल्याइएको जनाइएको छ । कार्यालयले छ सय २० रोपनी क्षेत्रफलमा घाँसखेती गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउनेछ । प्रति रोपनी तीन हजारका दरले रकम उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

कार्यालयले पशुपन्छी तथा मस्त्य व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तर्गत माछा भुरा खरिद ढुवानी वितरणका लागि चार लाख, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ९० लाख, कृषि ऋणमा ब्याज अनुदानअन्तर्गत चार लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडीबाच्छी हुर्काउन ७० लाख बजेट विनियोजन गरेको छ ।

पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत नियमित उपचार सेवाका लागि सात लाख, प्रयोगशाला सेवा सञ्चालनका लागि पाँच लाख, मत्स्य स्वास्थ्य घुम्ती शिविरका लागि एक लाख, आकस्मिक उपचार तथा रोग नियन्त्रण सेवा सञ्चालनका लागि छ लाख, गाईभैंसीमा बाँझोपन निवारण घरदैलो शिविर सञ्चालनका लागि आठ लाख बजेट विनियोजन भएको केन्द्रले जनाएको छ ।