एकोहोरो आरोप लगाएर राजनीतिक जीवन सिध्याउन खोजियोः राहुल महरा



काठमाडौँ । सुन तस्करीमा नाम मुछिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् । सोमबार सामाजिक संजालमार्फत महराले सञ्चारमाध्यम आफै न्यायालय बन्न खोजेको भन्दै आपत्ति जनाएका हुन् । उनले यस प्रकरणमा दोषी देखिए कानुन बमोजिम भागिदार हुने समेत बताएका छन् ।
उनले सामाजिक संजालमा यस्तो लेखेका छन्
हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं । पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं ।

सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ ।


हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो ।

राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौं ।