अरब क्लब च्याम्पियन्स : रोनाल्डो चम्किँदा अल नासर च्याम्पियन



काठमाडौँ । साउदी क्लब अल नासर यस बर्षको अरब च्याम्पियन बनेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा साउदी प्रतिद्वन्दी अल हिलाललाई २-१ गोल अन्तरले पराजित गर्दै अल नासरले अरब क्लब च्याम्पियनसिप जितेको हो ।


अल नासरको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । १-० गोलले पछि परेको अल नासरका लागि रोनाल्डोले खेलको ७४औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल अतिरक्त समयमा गएको थियो । त्यसपछि खेलको ९८औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै अल नासरलाई जिताएका थिए ।

अल हिलालका लागि खेलको ५१औं मिनेटमा माइकलले शुरुवाती गोल गरेका थिए ।

यस खेलमा अल नासरका अब्दुलेलाह अल अमिरी र नवाफ बोउशालले रातो कार्ड पाएका थिए । अमिरीले खेलको ७१औं र बोउशालले खेलको ७८औं मिनेटमा रातो कार्ड पाएका थिए ।

योसँगै अल नासरले पहिलो पटक अरब क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । यस प्रतियोगितामा अरब देशका ३७ क्लबले भाग लिएका थिए । यस प्रतियोगितामा रोनाल्डोले सर्बाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।