२३ कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी



काठमाडौँ । सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा कम्पनीहरुलाई लिखित स्पष्टीकरण पेस गर्नेबारे पुनः स्मरण गराएको छ ।


कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले पुनः सात दिनको समय दिएर स्पष्टीकरण पेस गर्न सूचित गर्दै सो अवधिमा पनि जवाफ नआए कम्पनीहरु स्वतः कालो सूचीमा पर्ने उल्लेख गरेको छ ।

विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई कार्यालयले स्पष्टीकरण सोधेको हो ।