काठमाडौँ । देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ ।
छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजसम्म शान्ति समाजका जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रूपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्की गरी १६ जिल्लामा प्रदर्शन गरिएको हो ।
‘प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’, ‘हाम्रो आन्दोलन ः सामाजिक न्यायका लागि’ र ‘दण्डहीनता अन्त्य गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र कानुनी व्यवस्था गरिए पनि छुवाछुत र जातीय भेदभावजस्ता मानवताविरुद्धको अपराधका घटना बारम्बार भइरहेको र त्यस्ता घटनामा संलग्न दोषीलाई राजनीतिक एवं सामाजिक संरक्षण प्राप्त भएकाले दण्डहीनता बढेको शान्ति समाजको ठहर छ ।
‘दलित अधिकार मानव अधिकार’ भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियानरत दण्डहीनताविरुद्ध अभियान जारी राखिने शान्ति समाजका सभापति रामकृष्ण बरालले बताएका छन्।