सदनमा प्रतिपक्ष आक्रामक छ, हाम्रा माननीयहरु उपस्थित नै हुँदैनन् : रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रमुख प्रतिपक्ष दल आक्रामक रहेको बताएका छन् । सानेपामा जारी पार्टी केन्द्रीय समितिको बैठकमा नेता लेखकले कांग्रेस एउटा गठबन्धनबाट अर्को गठबन्धनमा गएको कारण संसदमा प्रमुख प्रतिपक्ष आक्रमक रहेको बताए ।

‘संसदमा प्रमुख प्रतिपक्ष आक्रामक छ । एउटा त राजनीतिक रुपले गठबन्धन परिवर्तन भयो । एउटा गठबन्धनबाट अर्को गठबन्धनमा गयौँ । त्यसकारणले पनि प्रमुख प्रतिपक्ष आक्रमक छ’, उनले भने, ‘आक्रमक मात्रै होईन परिपक्व छ तर, कहिलेकाही अधर्य देखिन्छ । अरु प्रतिपक्ष आक्रामक पनि छन् अधर्य पनि छन् । तर, नयाँ नयाँ संसदीय अभ्यासमा भएकोले कहिलेकाहीँ अपरिपक्वता पनि देखिरहेको छ । त्यसो हुनाले सत्तागठबन्धनभित्र मात्रै सामन्जस्यता र समन्वयकारी भुमिका होईन की प्रतिपक्षसँग पनि सामन्जस्य र समन्वयकारी भुमिका निर्वाह गरेर सदनलाई सञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसको छ ।’


यस्तै उनले सदनमा कांग्रेस सासंदहरु उपस्थिती कम हुने गरेको बताए । सांसदको पहिलो काम भनेको सदनमा उपस्थिती भएर त्यहाँभित्रका काम गर्ने भएको र अनिवार्य उपस्थिती हुनुपर्ने उनले बताए । ‘सदनमा पार्टीका माननीय सांसदहरु उपस्थिती कम हुने गरेको छ । एउटा त उपस्थिती कम हुन्छ अर्को मान्य सदस्यहरु दिनभरी बस्दिनु हुन्न । कहिलेकाहीँ कोरमको समस्या हुन्छ । कहिलेकाही निर्णय गर्दाखेरी अल्पमतमा परिने समस्या हुन्छ’, उनले भने, ‘कहिलकाँही ह्वीप जारी हुँदाहुँदै पनि संख्या औँलामा गन्नुपर्ने सिर्जना हुन्छ । त्यसकारण म आग्रह गर्नु चाहन्छु माननीय सदस्य साथीहरुलाई पहिलो काम भनेको सदनमा उपस्थित भईदिने, त्यहाँभित्रका काम गर्दिने भएको हुनाले उपस्थितीका लागि विशेष अनुरोध गर्न चाहन्छु ।’

यस्तै उनले कांग्रेसको पहिलो जिम्मेवारी भनेको अहिलेको गठबन्धनलाई स्थिर र स्थायी बनाई राख्नुपर्ने रहेको बताए । ‘विभिन्न राजनीतिक दलहरुको गठबन्धनमा सरकार बनेको छ । त्यो सरकारलाई स्थिर र स्थायी बनाउनका लागि सदनभित्र नेपाली कांग्रेसले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपरिरहेको छ’, उनले भने, ‘गठबन्धनभित्र कानुन निर्माण गर्ने सवाल र कतिपय नीतिगत व्यवहारिक सवालहरुमा गठबन्धनभित्रै उत्पन्न हुने विभिन्न विचारहरुका विचमा पनि सामान्जस्य गरेर कांग्रेस अगाडी जानुपर्ने अवस्था छ ।’