वाम एकताको कुराले कांग्रेस तरंगित हुनुपर्दैन : प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् । 

आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा उनले कम्युनिस्टबीचको एकताले कांग्रेस तरंगित हुनु नपर्ने बताएका हुन् ।


उनले वाम एकताका कारण काङ्ग्रेससँगको सम्बन्धमा कुनै दरार नआउने समेत बताए । कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उनले काङ्ग्रेससँगै मिलेर राजनीतिक उपलब्धिको रक्षा गरिने बताए ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन प्रस्ताव नगरेकोमा पश्चाताप भइरहेको उल्लेख गरे ।

‘उनले भने, ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटकपटक राजीनामा नदिन भन्नुहुन्थ्यो ।’ 

प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए ।  गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उनको भनाइ छ ।