काठमाडौं । नेपाल बार एसोसिएसनले जिल्ला अदालत ललितपुरमा कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायी पक्राउ गरिएको विरोधमा सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएको छ । जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानून व्यवसायी अमिर लामिछाने पक्राउ परेका छन् ।
बारले उनलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने माग राखेको छ । बारले लामिछानेलाई तत्काल रिहा गर्न, सीसीटीभी फुटेज सार्वजनिक गर्न, लामिछानेले दिएको जाहेरी दर्ता गर्न माग गरेको छ ।
असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप देशभरका अदालतका कर्मचारीहरुले आन्दोलन स्वरुप आज आइतबार ३ घण्टा काम रोकेका थिए । लामिछाने विरुद्ध नासु तामाङले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएकी थिइन् र लामिछाने पक्राउ परेका थिए ।