निर्वाचन आयोगको प्रस्ताव- ‘नो भोट’ को व्यवस्था हुनुपर्छ



काठमाडौं । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आज बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरी सरकारलाई पठाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले चुनावमा कसैलाई पनि भोट दिन्नँ भन्ने व्यवस्थाका लागि प्रस्ताव अघि सारेको छ । प्रस्तावमा कसैलाई पनि मत दिन्नँ भन्ने विकल्पको पनि व्यवस्था गरिएको छ । यसका लागि मतपत्रमा संकेत चिह्न राख्नुपर्ने निर्वाचन आयोगको प्रस्ताव छ ।


आयोगले निर्वाचनसम्बन्धी कानुनमा ‘नो भोट’, विदेशमा रहेका नेपालीलाई मताधिकार, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ । 

यस्तै पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ ।

त्यस्तै आयोगले समानुपातिकमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न लागेको छ। समानुपातिकका लागि पठाइने बन्दसूचीमा दुई पटकभन्दा बढी राख्न नपाइने कानुनका लागि आयोगले प्रस्ताव गरेको हो ।

प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने।’यसैगरी एउटा तह वा पदमा हारेको व्यक्तिले अर्को तह र पदमा कम्तीमा पाँच वर्ष चुनाव लड्न नपाउने व्यवस्था पनि अघि सारिएको छ।