जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेको बताएको छ । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन पुगिसकेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।
सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल नुन रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रमुख मल्लले भने,“जिल्लामा अब नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन बिक्रि वितरण गरिने छ । वडाको मागबमोजिम नुन बिक्रि वितरण गर्न कार्यालय लागिपरेको छ । ”
गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपझोक्तालाई नुन बिक्रि वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भीड लाग्ने गरेको कार्यालयले जनाएको छ ।
गत आव २०७९÷०८० मा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिए ।
तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन बिक्रि वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए ।