काठमाडौं । छोरीलाई लोक सेवा आयोगको परीक्षामा पास गराउन उत्तरपुस्तिका सच्याउने लोक सेवा आयोगका अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई आफ्नो छोरीका लागि गरेको उक्त कार्य अक्षम्य भएको भन्दै उनलाई दोषी ठहर गरेको हो ।
अदालतले शाहीलाई दोषी ठहर गर्दै ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । निष्पक्षता कायम गर्नुपर्ने जिम्मेवारी र शपथ लिएको व्यक्तिले आफ्नो परिवारको सदस्य सहभागी भएको परीक्षामा जोडिन समेत नमिल्ने अवस्थामा उनले परीक्षाको उत्तरपुस्तिका नै फरक हुने गरी लेखेको कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको फैसलामा उल्लेख छ ।
नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराइ सफल गराउने नियतले शाहीले उत्तरपुस्तिका सच्याएका भेटिएको थियो ।
छोरीको उत्तरपुस्तिकामा बाबुले उत्तर लेखेको सूचना बाहिरिएपछि आयोगले उनलाई निलम्वन गर्दै कारबाही समेत गरेको थियो। परीामा सहभागी उनकी छोरीको उत्तरपुस्तिका रद्द गरिएको थियो ।अख्तियारले २०७८ वैशाख ८ गते शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।