छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री साउद



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका हुन्।

एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। “दुई छिमेकी मुलुकको उदीयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ”, उनले भने, “जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।”


छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शीरूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए। “सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न”, उनले भने, “पारदर्शीरूपले आफ्ना ‘कन्सर्न’ राख्नुपर्छ।”

भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै उहाँले खुला सिमाना, दुईतिहाइ व्यापार, पारवहन सुविधाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए। यसैगरी उनले एक चीन नीतिमा सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिए।

अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। परराष्ट्रमन्त्री साउदले अमेरिका र युरोपियन युनियनबाट अधिकतम विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टदेखि कार्यान्वयनमा जाने उनले समितिलाई जानकारी दिए।