काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको छ ।
उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो । अब सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।
गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा एमालेको तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।
रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।
आइतबार रिटमा प्रारम्भिक सुनुवाइको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको थियो । उक्त पेसी हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो ।