चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् ।
चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे ।“नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौ । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भने । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ थियो ।
नेता सिंहले प्रदेश आफै स्वायत्त भएको उल्लेख गर्दै भने – “कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नेछन् ।”
सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भए पनि हस्तक्षेप नहुने उनको भनाइ थियो ।