कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।


त्यस्तै, बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालमा कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलको इटालीको भ्रमणलाई समेत स्वीकृत गरेको सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ । प्रधानमन्त्री साउन ७ गत इटली जाने कार्यक्रम तय भएको छ ।