एक वर्षमा ५२ लाख बराबारको दूध विक्री



दैलेख । नारायण नगरपालिका क्षेत्रका तीन टोलका किसानले एक वर्षमा ५२ लाख बराबारको दूध बिक्री गरेका छन् ।

नारायण–११ विन्ध्यवासिनी,  नारायण – ६ बिजौरा र  नारायण –३ कालीमाटीका किसानले एक वर्षमा ८० हजार लिटर दूध स्थानीय डेरी उद्योगलाई बिक्री गरेका हुन् ।


किसानले यसवर्षको गत जेठसम्म मात्रै ५२ लाख पैसा बुझेका छन् । ‘ल्याक्टोमिटर’का आधारमा जाँच गरेर राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्थाले दूध घरबाटै खरिद गरेको थियो । स्थानीय सहकारीले घरबाटै दूध लिएपछि बजारमा बिक्री गर्न जाने समयको बचत भएको किसानले जनाएका छन् ।

नारायण – ३ का दूध उत्पादक किसान मनिषा कठायतले कालीमाटीबाट सदरमुकाम दूध बिक्री गर्न जाँदा–आउँदा तीन घण्टा बचत हुने र उक्त समयमा भैँसीलाई घाँस काट्न सक्ने बताए ।

डेरीले प्रतिलिटर ६० रुपैयाँका दरले किसानलाई पैसा प्रदान गर्ने गरेको छ । नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले तीन वर्षदेखि किसानलाई अनुदानमा भैँसी वितरण कार्य सुरु भएसँगै किसानले दूध बिक्री गरेर लाखौँ आम्दानी लिन सफल भएका बताए । उनले भने, “डेरीमा मात्र बिक्री गर्ने किसानले ५२ लाख पाए । ” 

नारायण नगरपालिकाबाट मात्र वार्षिक करिब एक करोड बढी रकमको दूध किसानले बिक्री गर्ने गरेका उनको भनाइ छ । नगरपालिकाले यस वर्ष मात्रै किसानलाई १४ भैँसी अनुदानमा वितरण गरेको छ ।

दूध उत्पादनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत प्रदेश सरकार, नारायण नगरपालिका र पशुसेवा कार्यालय दैलेखले विगत तीन वर्षदेखि भैँसी वितरण कार्यक्रम सञ्चालन गरेका थिए ।

केही स्थानमा वितरण गरेका भैँसीबाट प्रतिफल प्राप्त हुन नसकेको भए पनि सक्रिय किसानले दूध बिक्री गरेर राम्रो आम्दानी लिन सफल भएका पशु सेवा कार्यालयका प्रमुख भीमबहादुर विष्टले बताए  ।

किसानले २५ प्रतिशत रकम जम्मा गरेर भैँसी खरिद गरेका पशु शाखा दैलेखका चित्र प्याकुरेलले जानकारी दिए । कर्णाली प्रदेश सरकारमार्फत पशु सेवा कार्यालय दैलेखले डेरीमार्फत दूध बिक्री गरेका किसानले वर्षभरि बिक्री गरेको दूधलाई आधार मानेर प्रतिलिटर ५ रुपैयाँ थप अनुदान प्रदान गरेको छ ।

दैलेखका तीनवटा टोलबाट मात्रै बिक्री गरेको दूधको विवरणलाई आधार मानेर ८० हजार लिटर दूधको प्रतिलिटर ५ रुपैयाँका दरले रु चार लाख थप अनुदान रकम वितरण गरिएको हो ।

किसानको घरमै पुगेर अनुदानको रकम वितरण गरिएको राष्ट्रसेवक सहकारी संस्था दैलेखका अध्यक्ष लालबहादुर खड्काले बताए । 

किसानहरूलाई थप उत्साह प्रदान गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल किसानको घरमै पुगेका छन् । सरकारले प्रदान गरेको उत्पादनमा आधारित अनुदान पैसा वितरण गर्न उनि नारायण –३ कालीमाटीका किसानको घरमा पुगे । सो अवसरमा उनले अब हरेक क्षेत्रमा उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने कामलाई सरकारले अझै प्रभावकारी बनाउने बताए ।