हामीलाई एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजियो, त्यस्तो होइनः सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु अरु पार्टीको पछि नलागेको बताएका छन् । बिहीबार बिहान संसदीय मामिला पत्रकार समाजको टोलीसँग पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा कुरा गर्दै सभापति लामिछानेले आफूहरुले स्वतन्त्र निर्णय लिने गरेको बताएका हुन् ।

उनले आफूहरुलाई एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए । उनले भने,’हामी एमालेको पछि लाग्ने होइन। हामी त जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी कांग्रेसको पछि थियौँ। न माओवादीको पछि हौँ। न एमालेको पछि हौँ।’


उनले आफूहरुले जस्तो स्वतन्त्र निर्णय गर्ने अन्य दल कमै मात्र रहेको दाबी गरे । सभापति लामिछानेले आफ्नो पार्टी सरकारमा जाने तत्काल सम्भावना नरहेको बताए ।

उनले भने,’उपनिर्वाचनपछि आउनुहोस् भन्नुभएको थियो, अहिले कुराकानी भएको छैन । यो रेस र गेममा पनि छैनौँ । तर, हामी स्थायित्वको पक्षमा छौँ ।’

अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनले बताए । लामिछानेले मिटरव्याजसम्बन्धी कानुनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अब सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गरे ।