स्कटल्यान्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो वेस्ट इन्डिज



काठमाडौं । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज आइसीसी क्रिकेट विश्वकप क्वालिफायरबाटै बाहिरिएको छ । हरारेमा भएको खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित हुँदै वेस्ट इन्डिज बाहिरिएको हो । 

वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 


स्कटल्यान्डको जितमा म्याथ्यु क्रसले ७४ र कप्तान रिची बेरिंग्टन १३ रनमा अविजित रहे । 

ब्रेन्डन म्याकमुलेन ६९ रन बनाएर आउट भए । जर्ज मुन्शे १८ रन बनाए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४५ रन बनाए । रोमारियो शेर्फडले ३६ रन बनाए । ओपनर ब्रान्डन किंगले २२ रन बनाए । निकोलस पुरनले २१ रन बनाए ।

कप्तान शाई होपले १३ रन तथा केभिन सेनक्लियरले १० बनाए । वेस्ट इन्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन समेत सकेनन् । 

स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलनले ३ तथा क्रिस ग्रेभ, क्रिस सोल र मार्क वाटले समान २/२ विकेट लिए । सफियान सरिफले १ विकेट लिए । 

पराजित भएसँगै वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने दोस्रो टोली बन्ने छ । यस अघि ओमान सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बनिसकेको छ । वेस्ट इन्डिज पहिलो पटक विश्वकपबाट बाहिरिएको हो ।