सुन तस्करीको जरोमा नपुगे सरकारको दिनगन्ती सुरु हुन्छः सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी सेटिङविना हुन नसक्ने भएकाले मुख्य दोषीलाई कारबाही कर्मचारीलाई सरुवा गरिएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले कर्मचारी सरुवा गरेर मुख्यदोषीलार्ई जोगाउने काम नगर्न चेतावनी दिएका हुन् । उनले सुन विमानस्थलबाट क्वीन्टलका क्वीन्टलका सुन आउँदा जनताले अचम्म नमानेका बताए ।


उनले भने, ‘क्वीन्टलका क्विन्टल सुन आउँदा जनताले अचम्म मनेका छैनन् । वर्षौंदेखिको सेटिङमध्येको अर्को घटना आएको हो । जब यस्ता घटना आउँछन्, तब कर्मचारीको सरुवा हुन्छ । सरुवा कारबाही गरिएको हो कि पुरस्कार गरिएको हो ?’

उनले यस प्रकरणमा जोडिएका विभिन्न निकायका प्रमुखलाई बर्खास्त गरेर अनुसन्धान गर्न आग्रह गरेका छन् । उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताए ।

उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए । उनले भने, ‘सुन तस्करीको जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’