सुदूरपश्चिमका पहाडी जिल्लामा अवरुद्ध विद्युत् सेवा ८ घण्टापछि सुचारु 



बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा अवरुद्ध भएको विद्युत् सेवा आठ घण्टापछि सञ्चालन भएको छ ।

डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रसारण लाइनको तार टुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । 


टुटेको तार अत्तरियाबाट आएको प्राविधिक टोलीले मर्मत गरेपछि आठ घण्टापाछि सेवा सञ्चालन भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले जानकारी दिए । 

“तार टुट्दा सुदूरपश्चिमका  सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो”,  उनले भने, “तार टुटेको खबर पाएपछि प्राविधिक टोली परिचालन गरेर मर्मत गरिएको थियो । अहिले बिजुली सञ्चालन भइसकेको छ ।”