संसदीय समितिहरूको नेतृत्व चयन गर्न दलहरू सहमत



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्वबारे सहमतिमा नपुगे निर्वाचनको प्रक्रिया अघि बढाइने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेतालाई उनले यस्तो बताएका हुन् ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा उनले यस्तो बताएका हुन् ।


बैठकपछि सभामुख घिमिरेले भने- ‘चुनाव गर भन्नुहुन्छ कि सहमति गरौँ  भन्नुहुन्छ ? यो तुरुन्त गरौँ । तपाईंहरूले गर्नु भएन भने मैले स्टेप चाल्नुपर्ने हुन्छ भनेँ । मूलतः संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो ।’

उनले सहमति नभए संसदीय समितिको नेतृत्व चयन गर्न तत्काल निर्वाचनको मिति तोकिने बताए । 

सभामुख घिमिरेसहित सिंहदरबारका बसेको बैठकमा संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमति भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

उनले भने- ‘संसदीय समितिको नेतृत्व चाडोभन्दा चाडो चयन गर्ने सहमत भयो । प्रमुख सचेतकलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ ।’

टीआरसी र मनी लाउन्ड्रिङको विधेयक अघि बढाउने सहमति पनि भएको उनले बताए । संसदीय समितिको नेतृत्वमा पुरानै सहमति कार्यान्वयन गरेर अघि बढ्ने उनले बताए ।