विश्वकप छनोटबाट बाहिरिएको नेपाल आज यूएईसँग प्लेअफ खेल्दै



काठमाडौं । आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले आज प्लेअफमा यूएईसँग खेल्दै छ ।
आइतबार दिउँसो पौने १ बजे खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा सुरु हुँदैछ ।

आजको स्पर्धाका विजेताले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । पहिलो प्लेअफमा अमेरिकालाई परााजित गर्दै आयरल्यान्डले सातौं स्थानको लागि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । यो प्लेअफमा पराजित टिमले भने नवौं र दसौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।


नेपाल र यूएईबीच अहिलेसम्म १४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले आठ वटा जित निकाल्दा यूएई ६ वटा खेलमा विजयी भएको छ ।

विश्वकप छनोट अन्तर्गत नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भयो। अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको हो ।