काठमाडौँ । ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बिहीबारका लागि पेशी तोकिएको हो ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार बहस हुँदाहुँदै समय सकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।
थुनामा रहेकाहरूले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध सर्वोच्च अदालत पुगेको थियो । सबै रिट र निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ ।