ललिता निवास जग्गा प्रकरणमा पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पाँचजना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।


ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरूको संलग्नता देखिएकाले पक्राउ पुर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सो प्रकरणमा तत्कालीन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।

पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी गराउने तयारी गरेको बुझिएको छ ।

सो प्रकरणमा प्रहरीले पूर्वसचिवहरुसमेत गरी ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको बुझिएको छ । तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

११२ रोपनी जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।