लमसुङ र लुलाङ बर्खा यातायात सञ्जालबाट बिच्छेद



म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं २ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नं ३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुनाबाट लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार विकले बताए ।

‘पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्रै महिना सहज र सुरक्षितरूपमा यातायात सेवा नपाइने भयो’, गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले शनिबार लमसुङमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा खोरियाका मोतीप्रसाद पाइजाले भने, ‘कालुङखोला, महखोला र दरखोलामा जतिसक्दो छिटो पुल हाल्नुपर्ने तथा कालुङखोला नजिकैको पहिरो पन्छाउनुपर्ने देखियो ।’


खोरियाका तेजिन्द्र पाइजाले यातायात सेवालाई सहज, सुरक्षित, भाडादर समायोजनका साथै गुर्जा र जलजला हुँदै ढोरपाटनसँग सडक सञ्जालमा जोड्ने योजनालाई तीव्रताका साथ कार्यान्वयन गर्न माग गरेका थिए । लुलाङमा दुई सय ५० भन्दा बढी घरधुरीको बसोबास छ । यसैगरी गाईगोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि भ्याक्सिन र औषधिको व्यवस्था, भनेको समयमा कृषि प्राविधिकको सेवा उपलब्ध गराउन स्थानीय कृष्णबहादुर गौचनले माग गरे ।

लुलाङका कृष्ण विकले एकै व्यक्तिले धेरैपटक एउटै उपभोक्ता समितिको नेतृत्व गर्न नपाउने नीतिगत व्यवस्था गरेर सबैले अवसर पाउने व्यवस्था मिलाउन सुझाव दिए । लुलाङकै बलमान विकले लागत अनुमान भूगोलअनुसार नहुँदा दुर्गमका उपभोक्ता समिति ढुवानी भाडाका कारण मर्का र समस्यामा परेका बताउनुभयो । लुलाङकी रतिमा विकले स्वास्थ्य संस्था टाढा हुँदा सेवा लिन असहज भएको र राजकुमार विकले बिग्रिएको प्रिन्टर नबनाउँदा वडा कार्यालयबाट जन्मदर्ता गर्न समस्या भएको गुनासो गरे । खकप्रसाद विकले लुलाङमा खेलमैदान नहुँदा विद्यालयमा गएर खेल्दा विद्यार्थीको पढाइमा असर परेको बताए ।

स्थानीयवासीले गरेका प्रश्नको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष अकप्रसाद विक र वडा सचिव गिरिराज शर्माले जवाफ दिनुका साथै प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष पुनले यसपालि लुलाङ हुँदै गुर्जा जोड्ने सडकलाई सङ्घ, प्रदेश र पालिकाबाट रु दुई–दुई करोड, ढोरपाटन जोड्ने सडकलाई डेढ करोड, दरवाङ–मुना जोड्ने सडकलाई रु पाँच करोड र लमसुङको दरखोलामा मोटरेबल बनाउन प्रदेशबाट रु ८० लाख छुट्टिएको जानकारी दिए । लमसुङ पहिरो नियन्त्रणका लागि रु एक करोड विनियोजन भएको जानकारी दिए ।

वडाध्यक्ष विकले धेरै मेहनतपछि लुलाङमा सडक पुगेको, एक घर एक धारासहितको खानेपानी आयोजना, वडा कार्यालय भवन बनेको र आगामी वर्ष खोरिया र लमसुङमा नेवाः संस्थासँग समन्वय गरेर खानेपानी आयोजना बनाउन लागिएको बताए । अबदेखि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने जानकारी गराउँदै लुलाङको खेलमैदान बनाउन रु पाँच लाख विनियोजन भएको बताए ।

वडासचिव शर्माले प्रिन्टर मर्मत गर्ने आर्थिक स्रोतको कमीले वडामा जन्मदर्ता गर्न नसकिएको र पालिकामा गएर अनलाइन दर्ता गराउनुपरेको बताए । उनले केही योजना तथा कार्यक्रम सङ्घीय सरकारले बजेट कटौती गरेपछि कार्यान्वयन नभएको बताए । सो अवसरमा गाउँपालिकाका अध्यक्ष पुनले पाँचकोठे, एकतले वडा कार्यालय भवन शुभारम्भ गरेका थिए ।