रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : नेता डा. कोइराला



काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन् । कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताएका हुन् ।

नेता डा कोइरालाले कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन सके पार्टीभित्रको चुनौती कम हुँदै जाने उल्लेख गरे । उनले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्यसमेत समाप्त हुने बताए । फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उनको भनाइ थियो ।


नेता डा. कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको रूपान्तरणका लागि पार्टीभित्र रूपान्तरणको खाँचो रहेको बताउएका हुन् ।

कांग्रेस नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको नेतृत्व युवाले लिनुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई अगाडि बढाउनका लागि युवाहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे । कांग्रेस नेता गुरुराज घिमिरे, मधु आचार्य, जगदीश्वरनरसिंह केसीलगायतले पार्टीलाई रूपान्तरण गरेर अगाडि बढ्न सकेमात्र कांग्रेसको आगामी भविष्य राम्रो हुने बताएका थिए ।