रसुवामा लम्पी स्किनबाट एक सय ५९ पशु मरे



रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् ।

जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ ।


उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौँरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरु मरेका छन् ।

गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । लम्पी स्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनको भनाइ छ ।

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ ।

आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् ।

कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए ।

सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ ।